Saturday, October 24

साम्राज्ञी भन्छिन्, ‘म डराउँदिन, अरुलाई गुर्हादिन, आफैं प्रतिवाद गर्छु’

July 30, 2020 191

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै उनकैविरुद्ध अभिनेता/निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरे, साउन ९ गते । त्यसअगाडि भुवन र उनका नजिकका फिल्मकर्मीले सामाजिक सञ्जालमा उनीमाथि अनेक आक्षेप लगाएका थिए ।

छोटै समयमा लोकप्रियताको उचाईमा पुगेकी यी अभिनेत्री अहिले फिल्मक्षेत्रमा आफूले भोगेको विभेदविरुद्ध डटेर प्रतिवाद गर्दैछिन् । आफैं अदालत जाने तयारीमा छिन् । यही सन्दर्भमा यो विवादको चुरो, फिल्म क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहार र व्यक्तिगत भोगाईबारे साम्राज्ञीसँग गोकर्ण गौतमले गरेको कुराकानी :

भुवन केसीले तपाईंविरुद्ध गाली बेइज्जतीको मुद्दा हाल्नु भएको छ । अब के गर्नुहुन्छ ?

उहाँले आफूलाई गुरु भन्नुहुन्थ्यो तर एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु । अहिले पनि उहाँहरुले दुर्व्यवहार गरिरहनुभएको छ । मान्छे लगाएर मविरुद्ध बोलाइरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ । मेरो नाम उचालेर, केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र छोड्छे भनेर उहाँ र उहाँ वरपरका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ । म अरुलाई गुर्हादिनँ, आफैं सामना गर्छु । म अहिले बोलिरहेकी छु, यो सुरुवात हो, अब आउने पुस्ता आफूमाथिको हिंसा र दुर्व्यवहार सहदैनन् । डटेर बोल्छन् ।

‘ड्रिम्स’को सुटिङ दौरान पोखरामा खास भएको के थियो ?

मुस्ताङको सुटिङ सकेर पोखरा आएपछि भुइचालो गयो, मसँग बस्दै आउनुभएको साथी प्रनिका भण्डारी घर जानुभयो, हामीलाई विदा दिइएन, म एक्लै परें । रातको त्यस्तै ११ बजेतिर बत्ती निभाएर सुतेको थिएँ । केहीबेरमा कोठामा कोही खाली खुट्टा हिँडेकोजस्तो आवाज आयो, म तर्सें, एकदमै डराएँ, ‘ओम…’ जप्दै निदाउन खोजें । एक्कासी मेरो पेटमा कसैले हात राखेको जस्तो भयो, मैले पनि त्यहाँ हात लगें, त्यो हातलाई मेरो छातले छोप्यो । म जुरुक्क उठें, एकदमै खस्रो हात थियो । अनुहार चिन्न खोजें तर अध्याँरो भएकाले देख्नै सकिनँ । होचो थियो, गन्जी र कट्टुमात्र लगाएको थियो । म रुँदै कराउन थाललेपछि दोड्दै झ्यालबाट भाग्यो । त्यतिबेला १६ वर्षकी थिएँ, आधा घण्टा बाहिर निस्कनै सकिनँ, झ्यालबाट आएर चक्कुले हान्छ कि भनेर तर्सन थालें । बल्लतल्ल बाहिर निस्कें, अरुलाई उठाउन खोजें, कोही उठेनन् । अनि रवि मामा (फिल्मका एक निर्माता) लाई उठाएँ, एकछिनमा प्रहरी आएर त्यो मान्छेको हुलिया सोध्यो । म डराएको भएर त्यो रात म अनमोलकी काकीसँग सुतें । जीन्दगीमा पहिलोपटक त्यस्तो घटना भोग्नु परेकाले भोलिपल्ट पनि ‘फ्रेस’ हुन सकिनँ, को होला त्यो मान्छे भनेर दिमागमा खेलिरहन्थ्यो । तैपनि सुन्निएको अनुहारमै मेकअप गरियो । बाहिर निर्देशक (भुवन) हुनुहुँदोरेहेछ, मेरो नामले बोलाएर ‘तेरो रुममा हिजो को आको, तलाई रेप गर्न त आएको होइन ? हाहाहा…’ भन्दै गाडीभित्र छिर्नुभयो । त्यो पल म कहिल्यै बिर्सन सक्दिनँ । मैले इन्स्टाग्रामको भिडियोमा कसैको नाम नलिई त्यही भोगाई पोखेको थिएँ ।

नाम नलिँदा पनि भुवन केसी किन तपाईंमाथि जाइलाग्नु भएको होला त ?

तस्बिरहरु : अगंद ढकाल

मैले अरु भिडियोमा दुई फिल्मको सेटमा भोगेको निकम्मा व्यवस्थापन र पारिश्रमिक नपाएको कुरा सेयर गरेको थिएँ, कसैले केही भनेनन् । तर, यो मान्छेले अंग्रेजी नबुझेको हो कि, आफूले भिडियो नहेरेर अरुको कुरा सुनेर मात्र ‘जज’ गरेको हो, थाहा भएन तर घीनलाग्दो ढंगले स्ट्याट्स लेखेर मलाई हेपियो । उहाँ साँच्चै गुरु हुनुहुन्थ्यो भने मलाई फोन गरेर ‘त्यस्तो भएको मलाई थाहा थिएन, सरी । अब बिर्स’ भनेर सम्झाउनुपर्थ्यो । तर, उल्टै मलाई आक्रमण भयो ।

जापानमा तपाईंमाथि दुर्व्यवहार भएको थियो ?

उहाँ (भुवन) नै ‘मेरो छोरासँग फिल्म खेलिदिनुपर्‍यो, ठकुरी केटी कोही हिरोइन छैनन्’ भनेर मकहाँ आउनु भएको हो, तर सेटमा भेदभाव भयो, मलाई नमज्जा लागेको थियो । जापान जानु केही समयअगाडि मैले यही भोगाई एउटा अन्तर्वार्तामा भनेको थिएँ । उहाँ मेरो नजिक आउन खोज्दा जहिल्यै धकेल्थे, उहाँले सबैलाई ‘बाबा, छोरा’ भन्दै अंकमाल गर्नुहुन्छ, त्यो उहाँलाई मन पर्छ होला तर मलाई मन पर्दैन । जापानमा पनि असहज हुने गरी मतिर आउनु भयो अनि ‘मेरोबारे अन्तर्वार्ता दिदिरैछस्, किन बोलेको’ भन्नु भयो । मैले ‘तपाईले मैले काम नपाओस् भनेर कुरा काट्दै हिँड्न मिल्छ ? मलाई काम दिएको मान्छेलाई अर्को हिरोइन लिनु भन्न मिल्छ ?’ भनेर सोधें । हामी केटी मान्छेलाई बच्चैदेखि छाडा नजरले हेरिरहेको छ कि सामान्य तरिकाले, ठ्याक्कै थाहा हुन्छ । उहाँले केटीलाई कसरी हेर्नुहुन्छ, मैले देखेको छु, मलाई कसरी हेर्नुहुन्छ, अनुभुत गरेको छ । तर पनि वेवास्ता गर्थें ।

आफूमाथिको दुव्यर्वहारबारे अहिले बोल्ने आँट कसरी आयो ?

यसलाई सुशान्तसिंह राजपुतको आत्महत्यासँग लिंक गरिएको छ तर त्यस्तो होइन । लकडाउन अगाडि नै म एकखाले ‘डिप्रेस’ थिएँ, फिल्मक्षेत्रमा जति राम्रो काम गर्न खोजे पनि खुट्टा तान्ने, फिल्म फ्लप होस् भनेर नानाथरी गर्ने हुन्छन् । म हैरान भइसकेको थिएँ, त्यसैले ममीलाई फिल्म खेल्न मन छैन भनें तर उहाँले ‘नराम्रो मान्छेहरुलाई देखेर काम गर्दिनौं भने तिमीलाई नै घाटा हुन्छ’ भनेर सम्झाउनुभयो । त्यतिबेला हल्का मन शान्त भएजस्तो भयो तर दिमागमा कहीं न कहीं त्यही कुरा घुमिरहन्थ्यो । त्यही नमिठो अनुभव इन्स्टामा सेयर गरेकी हुँ ।

तपाईले नयाँ र चलेका कलाकारमा विभेद हुन्छ भन्नुभयो । ‘मारुनी’मा तपाईलाई काखा र नयाँ हिरोइन रेबिका गुरुङलाई पाखा गरेको चर्चा चल्यो । आफ्नै फिल्मभित्रको विभेदबारे किन्न बोल्नुभएन ?

इमानदारी साथ भन्दा मसँग हुँदा फिल्म युनिटले राम्रै गरेको थियो तर म नहुँदा कस्तो गरिन्थ्यो, थाहा छैन । प्रमोसनमा जान उहाँ (रेबिका)लाई कल गर्दा सधैं स्वीच अफ हुन्थ्यो । मैले नदेख्ने गरी भेदभाव भएको छ भने त मेरो गल्ती होइन नि ।

तपाईंले ‘ड्रिम्स’ रिलिजताका पारिवारिक माहोलमा काम भयो भन्नुभएको थियो तर अहिले भेदभाव भोगें भन्नुहुन्छ । कसरी पत्याउने ?

मैले त्यतिबेला काम सिकेको थिएँ, फिल्म राम्रो बनेको थियो, मैले सुटिङमा खिच्दाखिच्दै भेदभाव भयो भनेको होइन । क्यामेरा बन्द भएपछिको कुरा गरेको हो । क्यामेरा सामुन्ने र क्यामेरा पछाडिको भोगाई फरक हुन्छ नि !

भुवन केसीलाई ‘पर्भट’ नै भन्नुपर्ने कारण के हो ?

जे देखें, जे भोगें, त्यही भनेको हो । बाहिर आफू मै हुँ भनेर हिँड्ने कुरा अलग तर मान्छेको नियत हामीलाई थाहा हुन्छ । उहाँको व्यवहार देख्दा मलाई कति जनाले बोलिदियोस् भन्ने पनि हुन्थ्यो, जसरी अहिले मैले आवाज उठाइरहेको छु । समाजले छोरी मान्छेलाई हेर्ने नजरिया थाहा छ, परिवारलाई के भन्ला भन्ने डर हुन्छ, त्यसैले अरु आइरहनु भएको छैन ।

‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर गणेश सापकोटाले तपाईंलाई रक्सी र नशालु पदार्थ खुवाएको भन्दै अन्तर्वार्ता दिए । के भन्नुहुन्छ ?

हाम्रो विवाद भएपछि गणेश सापकोटा भन्ने मान्छेले मेरो र प्रोडक्सन दुवैको पक्षमा राम्रोसँग बोलेको थियो । तर, अचानक भुवन केसीको घरमा फोटो खिचेर त्यस्तो अन्तर्वार्ता दिएको छ । जसलाई भुवन केसीले पनि फेसबुकमा सेयर गर्नुभएको छ । कसले बोल्न लगाएको भनिरहनुपर्छ पर्छ र ? त्यसमाथि गाँजा खान्छ/खाँदैन भनेर पब्लिकमा ल्याउनु एकदमै घीनलाग्दो हो । ल्याइनै सकेपछि अब कसले खान्छ, कसले खाँदैन भनेर अनुसन्धान गरे हुन्छ, ‘दुधका दुध, पानीका पानी’ हुन्छ ।

तर, तपाईंमाथि प्रमोसनमा दुख दिएको आरोप छ नि ?

उसको छोरो (अनमोल) छायामा पर्छ भनेर मलाई प्रमोसनमा लैजानुपर्‍यो नि ? त्यतिबेला मेरो अभिनयको तारिफ भएको थियो । मैले कसैलाई होच्याउन काम राम्रो गरेको र ? मलाई यति झुटो आरोप लगाइरहेका छन् की ममाथि षड्यन्त्र नै भइरहेको जस्तो लाग्छ । अरुलाई स्क्रिप्ट दिएर मेरोविरुद्ध बोल्न लगाइरहेका छन् ।

खराब व्यवस्थापन र पारिश्रमिक नदिएका दुई फिल्म (ए मेरो हजुर २ र इन्टु मिन्टु लन्डनमा) बारे कम बोल्नु भएको हो ?

मैले जे भन्नु पर्ने थियो, भनिसकें, अब किन बढी बोल्नुपर्‍यो र ? उनीहरु चुप छन् । तर, योबारे बोलिरहेको छु, किनभने यो मान्छे मेरोमात्र होइन, मेरो आमाको पनि चरित्रहत्या गर्न खोजिरहेको छ ।

तपाईले दुर्व्यवहार भयो भन्दा पनि फिल्मवृत्तभित्रबाटै किन साथ पाउनु भएको छैन ?

सबैलाई डर होला नि । जे होस्, मलाई व्यक्तिगतरुपमा कल, म्यासेजचाहिँ गरिरहनुभएको छ । बोल्नुपरे पनि बोल्छु भन्नु भएको छ तर म किन बोल्न लगाउने ? यो मेरो लडाईं हो । आफैं स्वतस्फूर्त बोल्नुहुन्छ भने सकारात्मक रुपमा लिन्छु । मेरो साथ दिँदा काम नपाउँला भन्ने डरले पनि बोल्न गाह्रो भएको होला ।

तपाईंको सफलताबाट डाह गरेर अन्य समकालीन अभिनेत्री नबोलेकोजस्तो लाग्छ ?

मलाई अरुको फिल्म हिट भयो भने भित्रैबाट खुशी लाग्छ, भाग खोस्ने होइन । तर, यहाँ खुटा तान्ने बढी हुँदारहेछन् ।

कतिपय फिल्मकर्मीले तपाईले सुटिङमा दुख दिएको दुखेसो गर्छन् नि…

त्यस्तो होइन । बरु मेलैचाहिँ दुख पाएको छु, अरु कलाकार र प्राविधिकले दुख पाएको देखेको छु । तर, कहिल्यै बोलिनँ । अहिले बोल्दा यसरी आक्रमण भइरहेको छ । मलाई नराम्रो देखाउन मेरी आमालाई तानियो, यसले के सन्देश दिन्छ ? फिल्म क्षेत्रको बेइज्जत भइरहेको छ । अब त नयाँ मान्छे फिल्ममा काम गर्न आउन झन् डराउँछन् ।

‘स्टारडम’ व्यवस्थापन गर्न कत्तिको मुस्किल पर्छ ?

कलेज, व्यक्तिगत जीवन सबै छुट्दोरहेछ, त्यसैले सुरु–सुरुमा गाह्रो भयो । बिस्तारै बानी पर्दैगयो । गल्तीबाट सिक्दै गइरहेको छु । मलाई सिकाउने, बुझाउने कोहि छैनन् ।

तर, घमण्ड बढ्यो भनेर तपाईंसँग तर्कने फिल्ममेकर पनि उत्तिकै छन् नि…

मैले आफ्नै दुखले सफलता पाइरहेको छु, यसलाई कसैले घमण्ड मान्छ भने ठिकै छ । भगवानले नै घमण्डी देखिने अनुहार दिएको छ भने मेरो गल्ती होइन ।

अन्य महिला कलाकारलाई फिल्ममेकिङको प्रक्रियामा पुरुष सहकर्मीले गर्ने व्यवहार कस्तो देख्नुहुन्छ ?

सबैले नराम्रो नै गर्छन् भन्ने छैन । व्यक्तिअनुसार हुन्छ तर आफूलाई चित्त नबुझ्दा पनि बोल्ने कमै हुन्छन् ।

आफूमाथिको भेदभाव र दुर्व्यवहारबारे किन बोल्दैनन् ?

हेर्नुस् त, मैले कसैको नाम नलिई आफ्नो भोगाई राख्दा यसरी सामूहिक प्रहार भयो, हेप्ने र पेल्ने काम भयो । ‘म यति वर्षदेखि काम गरेको मान्छेलाई भर्खर आउने बच्चाले हेपेको, पख, देखाउँछु’ भन्छन्, अनि अरुलाई कसरी बोल्ने आँट आओस् ? बोल्ने बाटो नै छैन ।

प्रतिकृया दिनुहोस्