Saturday, October 24

पहिरोकै ढुंगामा अडिएर बिताए रात

July 14, 2020 222

संखुवासभा — घरमाथि आएको पहिरोबाट रौं चिरा समयको फरकले बचेका गोवासिंह राईलाई अहिले लाग्दैछ– ‘अलिकतिको संयोगले ज्यान जान पनि सक्दोरहेछ, रहन पनि सक्दोरहेछ ।’ शनिबार राति यही भयो उनको जीवनमा । पहिरोले एक्कासि घर हल्लायो । सिलिचोङ–१ बेसिन्दाका ७९ वर्षीय गोवासिंह श्रीमती र छोरीसहित अँध्यारोमा जसोतसो बाहिर निस्किए । निस्किसक्दा पहिरोले घर पल्टायो ।पहिरोमा बाँचेका संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका ७९ वर्षीय गोवासिंह राई ।

पहिरोमा उछिट्टिएर आएको ठूलो ढुंगा उनीहरूका लागि सहारा बन्यो । अरू भाग पहिरोसँगै बगे पनि घरको छानो र काठको फेद ढुंगामा अड्किएको थियो । आइतबार बिहान ११ जना बेपत्ता हुने गरी आएको पहिरोमा गोवासिंह, उनकी श्रीमती भीमसरी र छोरी फूलमाया त्यही ढुंगाको आडमा रातभरि बसिरहे । वरपर पहिरो, माझमा ढुंगा अनि ढुंगामाथि राई परिवार । त्यसमाथि अविरल वर्षा । ढुंगा ‘अब खस्यो अब खस्यो’ को त्रासमा रातभर बसिरहँदा उनीहरू एकै जुनीमा हजार फेर मरेजस्ता पनि भए । रातको अँध्यारोले उनीहरूलाई छोपेकाले कसैले देखेनन्, पहिरो, बाढी र दर्के पानीको आवाजले रोए/चिच्याएको कसैले सुनेनन् । उनीहरूमाथि रातभरि सानो–सानो पहिरो झरिरह्यो । पहिरोसँगै झरेको ढुंगा र माटोले उनीहरूको जीउमा चोट पुर्‍याइरह्यो । बाँच्ने आशा र मर्ने भयले उनीहरू चिच्याइरहे ।

आइतबार बिहान करिब ४ बजेतिर गाउँलेहरूले टर्चलाइट बालेर हल्लाखल्ला गरेपछि ‘हामी ज्युँदै छौं’ भन्ने चिच्याहटले सुन्ने कान पायो ।

गोवासिंहका अनुसार, त्यसै बेला उनीहरूको उद्धार हुन पुग्यो । उनका दुवै हातमा चोट लागेको छ, टाउकामा ढुंगाले गहिरो गरी काटेको छ । गोवासिंहलाई ज्यान बाँचेकाले चोटसँग उति गुनासो छैन ।

‘बाँच्छु जस्तो लागेकै थिएन,’ उनले भने, ‘हामी त खसिरहेको पहिरोमा भगवान्को नाम जप्दै बसिरह्यौं ।’ चारैतिर पहिरो गइरहेको अवस्थामा अँध्यारामा बसेर छटपटिनुबाहेक केही गर्न नसकेको उनले बताए । ‘परिवार सबै मरिने भइयो भनेर रुँदै बस्यौं,’ उनले भने, ‘तीन घण्टा हिलोमा भिजेर बिताइएछ ।’

बेसिन्दा बगरमा अलैंचीबारी गएका उत्तरकुमार राई पनि गड्याङगुड्डुङ गर्दै पहिरो झरेपछि गोठबाट भागे । लगत्तै पहिरो खसेर उनको गोठ र अलैंची बगान बगायो ।

‘अँध्यारोमा म भीर पहरा छाम्दै भागें,’ उनले भने, ‘पछि त्यहाँ पहिरो खस्यो ।’

खोलामा माटो गन्हाएको पानी बगेपछि बेंसीको गोठबाट भागेको उनले बताए । पहिरो गएको राति भीमबहादुर राई पनि घरमा एक्लै थिए । निद्रामै रहेका उनी घर हल्लिएपछि ब्युँझिएका थिए । ब्युँझँदा घर बगिसकेको थियो । त्यसपछि उनी आत्तिए । बाहिर निस्केर हेर्दा घर केही मिटर तल झरिसकेको थियो ।

‘एउटा ल्यापटप र मोबाइल थियो, त्यो खोजें तर भेटिएन,’ उनले भने, ‘घरको छानोमा के बज्रिएको जस्तो लाग्यो, म घरसँगै निक्कै तल झरिसकेको रहेछु ।’

उनले जीउ छामे, चिच्याए र एक फेर वरपर हेरे । ‘सबैथोक ठिकै लाग्यो, केही भएको रहेनछ भन्ने भएपछि गुहारगुहार भन्दै कराएँ,’ उनले भने ।

चिच्याउँदै ‘म सकुशल छु छिटो उद्धार गर’ भनेर धेरै पटक कराउँदा पनि कसैले नसुनेको उनले बताए । ‘रातको अँध्यारोमा आवाज कताबाट आएको हो र को हो भन्ने छिमेकीले चिनेनन्,’ उनी भन्छन्, ‘तर म एकोहोरो कराइरहें, म जिउँदै छु, मलाई उद्धार गर भनिरहें,’ उनले भने ।

पहिरोको खबर प्रहरीलाई दिने र उद्धारमा सक्रिय मदन राईको ह्दयाघातका कारण आइतबार ९ बजे ज्यान गयो । सामान्य दमका बिरामी मदनले पहिरो गएको खबर सबैभन्दा पहिले प्रहरीलाई गरेका थिए ।

संखुवासभाको सिलिचोङ–१ बेसिन्दामा गएको पहिरोमा परी बेपत्ता भइरहेकाहरूको खोजी गर्दै प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा ।

अहिले बेसिन्दाका ७९ परिवार सबैले गाउँ छाडिसकेका छन् । पहिरोले ११ जना बेपत्ता पारेपछि घरपालुवा जनावरलाई छाडेर सुरक्षाकर्मीले उनीहरूलाई बेसिन्दाभन्दा २ घण्टामाथिको शेर्पा बस्ती रहेको चित्रे गाउँमा राखेका छन् । बेपत्ताहरू अझै फेला परेका छैनन् । पहिरोबाट जोगिएका बेसिन्दाका ३ सय ४९ जना भने चित्रेमा बसिरहेका छन् । तीमध्ये केहीले सोमबार बिहान घरपालुवा जनावर आफूसँगै लगेका छन् ।

‘चित्रे गाउँमा धान फल्दैन, यहाँ ९ परिवार शेर्पाहरू बस्छन्,’ वडाध्यक्ष अलक्षकुमार राईले भने, ‘यहाँ आलु र मकै मात्र पाइन्छ ।’ चित्रे पुगेका बेसिन्दाका पहिरोपीडितले अन्नपात केही साथमा लैजान पाएका थिएनन् । उनीहरूलाई आलु उसिनेर र मकै भुटेर आइतबार र सोमबार बिहान खुवाइएको राईले बताए । घरमा नअटेकाहरू खुला आकाशमुनि बसिरहेका छन् । उनका अनुसार अहिलेसम्म राहतका नाममा केही लैजान सकिएको छैन ।

पहिरो खस्ने ठाउँ नभएको बेसिन्दा गाउँको नसोचेको ठाउँमा पहिरो खसेको वडाध्यक्षले बताए । ‘पहिरो गएको स्थान अरू भूभागभन्दा धेरै दह्रो थियो,’ उनले भने, ‘पहिरोको अनुमानसम्म गरेका थिएनौं, तर यत्रो पहिरो गयो ।’

स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पीडितलाई पुनर्वासको व्यवस्था गरिदिनुपर्ने उनको माग छ । ‘अब बेसिन्दा गएर कोही पनि बस्न मान्दैनन्,’ उनले भने, ‘बाँकी रहेका ७९ घर पनि पानी यसरी नै बगिरहे बग्ने खतरामा छ ।’

चित्रेमा रहेको अमरसिंह आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा रहेको प्रधानाध्यापक जीवनकिरण राईले बताए । त्यही भएर बेसिन्दाका पहिरोपीडितलाई विद्यालयमा राख्न नसकिएको उनले बताए । शेर्पाहरूको ९ घर र बौद्ध गुम्बा परिसरमा कोचाकोच गरेर पीडितलाई राखिएको छ ।

पहिरोमा परी बेपत्ता हुनेहरू सोमबार साँझसम्म भेटिएका छैनन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा छन् । यहाँ अझै लगातार पानी परिरहेको छ । खोजी कार्य भने सोमबार बिहानैबाट गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

विकट र भिरालो जमिन भएकाले बेपत्ताहरूको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोमा ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, उनका श्रीमती हस्तकुमारी, छोरीहरू एन्जिला, नम्रता राई हराइरहेका छन् ।

बेपत्ता हुनेमा जुद्धबहादुर राई, श्रीमती उत्तरकुमारी, नजमाया, हर्कराज, आइतमाया राईको पनि पत्तो लागेको छैन । पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्