Saturday, October 24

ओली हटाउन प्रचण्ड र नेपाल लागीपर्दा भारतमा खुसीयाली

July 4, 2020 208

काठमाडौं। नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन राजनैतिक रस्साकस्सी चलिरहँदा यसले भारतमा भने खुसीयालीको माहोल देखिएको छ । भारतीय मिडियाहरुमा यसको खुसीयाली प्रस्ट देख्न सकिन्छ ।

भारतीय मिडियाले नेपालको यो विषयलाई बढाइचढाइ प्रस्तुत गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले कुर्सी बचाउन संसद अधिवेशन अन्त्य गरेको भए पनि उनको कुर्सी खतरामै रहेको उल्लेख गरेका छन् । उनीहरूले ओलीले भारतको विरोध गरेर सत्ता बचाउन खोजेको तर असफल भएको टिप्पणी गरेका छन् ।

अहिलेको राजनैतिक परिस्थिति र नेपालको संवैधानिक व्यवस्थालाई हेर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याएर एक चौथाइ सांसदहरुले संसद अधिवेशन सुरु गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको अवस्थामा मात्र प्रधानमन्त्रीको पद खतरामा पर्न सक्छ अन्यथा कम्तिमा मंसिरम्म प्रधानमन्त्रीको पदलाई कुनै खतरा छैन । र, नेकपा विभाजित नै हुने अवस्था नआउँदासम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना न्यून छ ।

केही दिनअघि प्रधानमन्त्रीले एक सम्बोधनको क्रममा आफूलाई पदबाट हटाउन भारत र काठमाडौंमा भारत पक्षका शक्ति केन्द्रबाट प्रयास भइरहेको आरोप लगाएका थिए । यसै पनि भारत प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन चाहन्छ ।

ओलीले भारतले अतिक्रमण गरेका भूभाग समेटेर नेपालको परिमार्जित नक्सा पास गरेदेखि नै भारत उनीसँग रुष्ट छ । त्यसयता ओलीले नेपालमा भारतविरोधी राष्ट्रवादको भावना विकसित गर्न उल्लेख्य भूमिका खेलेका छन् जुन भारतलाई पचेको छैन ।

प्रधानमन्त्री ओलीका यी कार्यहरु भारतलाई चित्त बुझिरहेको छैन । नेपालको संसदीय राजनीतिको तीन दशकको अवधिमा यसअघि भारतले नेपालमा आफू अनुकूल सरकार नभए सरकार परिवर्तन गराउने गरेको दावी गरिन्छ ।

केपी ओलीकै अघिल्लो सरकारमा सहभागी तत्कालीन माओवादीलाई सरकारबाट फिर्ता बोलाएर ओलीलाई राजीनामा गर्न बाध्य पार्ने काममा भारतकै भूमिका रहेको दावी गरिन्छ । त्यतिबेला पनि ओलीले नाकाबन्दीका क्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको भावना जगाएका थिए ।

अहिले ओली सरकार दुई तिहाइ बहुमतको जगमा उभिएकोले यो सरकार ढलाउन भारतलाई सजिलो छैन । त्यसैले उसले मिडियाबाजी गरेर ओलीलाई कमजोर पार्ने प्रयास गरिरहेको बुझ्न सकिन्छ । सामान्यतया भारतीय मूलधारका मिडियाहरु सरकारविरुद्ध बोल्दैनन् ।

प्रतिकृया दिनुहोस्