Monday, November 30

गोरखाको रुई गाउँ कसरी तिब्बतको भयो?

June 23, 2020 278

काठमाडौं, असार ९-रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो।पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्।

त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोरखाबाट शिव उप्रेतीले लेखेका छन्।

साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन्। दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने साम्दोका बेलबहादुर गुरुङ बताउँछन्।

‘साम्दोका बासिन्दासँग उताको बोर्डर पास हुन्छ। रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ’, ३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ भन्छन्, ‘उताका व्यापारी पनि घोडा, याक, चौरीमा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन्।’ उनका अनुसार यी दुई गाउँका बासिन्दा लजुङ भञ्ज्याङको छोटो बाटो आउजाउ गर्छन्।

एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा साम्दोवासीको चित्त दुखाइ छ। आफ्नो पैतृक थलो तिब्बतको अधीनमा हुँदा कसैको पनि चित्त नबुझेको स्थानीय निमा दोर्जे लामा बताउँछन्।

‘पहिले त हामी एउटै हो नि’, चुमनुब्री गाउँपालिका–१ का जनप्रतिनिधिसमेत रहेका लामा भन्छन्, ‘तर, पछि चाइनाको भयो। नेपाल सरकारले आफ्नै गाउँ किन तिब्बतलाई दियोरु किन दाबी गरेन रु हामीले केही बुझ्न सकेनौं।’

उनका अनुसार रुईको जमिन असाध्यै उर्वर छ। त्यसकारण पनि साम्दोवासीले रुई मन पराउँछन्। ‘त्यहाँ सबैभन्दा ठूलो एउटा गुम्बा छ। फा तेगा गुम्बालाई बाउ गुम्बा भन्छन्।

ल्होको बुनाक्छा गुम्बालाई छोरा गुम्बा भन्छन् र बिहीको मामानिखाङ गुम्बालाई आमा गुम्बा भन्छन्’, उनी भन्छन्, ‘डोल्पा, मुस्ताङ, मनाङदेखिका लामा गुरुहरू त्यहाँ अध्ययन गर्न आउँछन्। सबैभन्दा ठूलो अध्ययन केन्द्रजस्तै हो त्यो गुम्बा तर नेपालले गुमायो।’

रुई भोटभित्र चारवटा टोल छन्। सबैमा गरेर १ सय ७० घरधुरी रहेको उनी सुनाउँछन्।

सरकारले वास्ता नगरेपछि चुपचाप सहनुपरेको स्थानीयको गुनासो छ। ‘यति ठूलो गाउँ छ, यति ठूलो गुम्बा छ। यताभन्दा राम्रो खेती हुने जमिन छ तर सरकारले वास्तै गर्दैन। हामीले के गर्न सक्छौं ररु’, उनी भन्छन्, ‘पहिलेदेखि मुद्दा बनाइरहेको भए अहिले ब्युँताएर पाउन सकिन्थ्यो। अब ६० वर्षभन्दा बढी भइसक्यो। यति बेला मुद्दा उठाएर के गर्ने रु चाइना सरकारसँग दुस्मनी गर्नु मात्रै हुन्छ।’

प्रतिकृया दिनुहोस्