Sunday, October 25

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

October 18, 2020 24

काठमाडौँ । अबदेखि कोभिड १९ को परीक्षण र उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए ।

अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए । उनले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ ।

प्रतिकृया दिनुहोस्