Saturday, October 24

आजदेखि बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

October 17, 2020 99

काठमाडौँ । प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ शनिवार देखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ ।

बडादशैँको सुरु दिन आज समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा गौतमले बताए । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यो पल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

टीकाको साइत कात्तिक १० गते १०ः१९ बजे

दसैं नौ रात र दस दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०स् ११ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० स् १९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

प्रतिकृया दिनुहोस्