Saturday, October 24

नोर्कियाले गरे आईपीएल इतिहासकै तीव्र गतिको बल

October 16, 2020 52

एजेन्सी । दिल्ली क्यापिटल्सका फास्ट बलर एनरिक नोर्कियाले बुधबार राजस्थान रोयल्स बिरुद्ध इन्डिएन प्रिमियर लिग इतिहासकै सबैभन्दा तीव्र गतिको बल फालेका छन्। खेलमा ४ ओभरमा ३३ रन खर्चिएका नोर्कियाले २ विकेट लिएका थिए। कीर्तिमान सहित राजस्थान बिरुद्ध १३ रनको जितमा नोर्किया प्लेयर अफ द म्याच समेत चुनिए।

लिगमा लगातार उत्कृस्ट बलिंग गरिरहेका दक्षिण अफ्रिकी बलर नोर्कियाले दोश्रो इनिंगको तेश्रो ओभरमा नयाँ कीर्तिमान बनाएका हुन्। ओभरको पाँचौ बलमा जोस बटलरलाई उनले कीर्तिमानी १५६.२ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए। उक्त बललाई बटलरले चौका प्रहार गरेका थिए।

उक्त ओभरमा नोर्कियाले तीव्र गतिको बलहरु फाल्ने क्रममा पहिलो बलमा १४८.२, दोश्रो बलमा १५२.३, तेश्रो बलमा १५२.१ तथा चौथो बलमा १४६.४ किलोमिटर प्रतिघण्टाको गतिमा फालेका थिए। पाँचौ बलमा कीर्तिमानी बल फालेता पनि चौका खाएका उनले छैठौं बलमा १५५.१ किलोमिटर प्रतिघण्टाको बल फाल्दै बटलरलाई बोल्ड गरे। बटलर बोल्ड भएको बल लिग इतिहासकै दोश्रो उच्च गतिको बल थियो।

राजस्थान रोयल्स बिरुद्धको जितमा प्लेयर अफ द म्याच चुनिएका नोर्कियाले खेलपछि कुराकानी गर्ने क्रममा आफूले १५६ किमी/घण्टाको बल गरेको थाहा नपाएको बताए- “मलाई थाहा थिएन मैले १५६ को गतिमा बलिंग गरे तर सुन्दा खुसि लाग्यो। राम्रो नतिजा आउदा निकै खुसि लागेको छ। म आफ्नो बलियो पक्षमा फोकस गरिरहेको थिए र स्टम्पलाई टार्गेट गर्दै फास्ट बल फालीरहेको थिए।” नोर्कियाले बताए।

जारि लिगमा ७ खेलमा नोर्कियाले १० विकेट लिएका छन् जुन क्रममा ७.३४ रन प्रति ओभर रन खर्चेका छन्।

आईपीएलमा डेब्यु गरिरहेका नोर्किया यस अघि कोलकाता नाइट राइडरर्स टिममा रहेता पनि ढाडको चोटका कारण खेल्ने भने मौका पाएका थिएनन्। दक्षिण अफ्रीकाको लागि गत वर्ष टेस्ट, टि-२० र वानडे तिन वटै फर्म्याटमा डेब्यु गरेका नोर्कियाले यो वर्ष मार्चमा अस्ट्रेलिया बिरुद्ध वानडे सिरिजमा ३ खेलमा ६ विकेट लिंदै उत्कृस्ट प्रदर्शन गरेका थिए। उनले ६ टेस्टमा १९ विकेट, ७ वानडेमा १४ विकेट तथा ३ टि-२० मा २ विकेट लिएका छन्।

डेल स्टेनको नाममा थियो रेकर्ड 

आईपीएलमा यस अघि सबैभन्दा तिब्र गति बलिंगको रेकर्ड डेल स्टेनको नाममा रहेको थियो जसले २०१२ मा डेक्कन चार्जर्सको प्रतिनिधित्व गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध १५४.४० को गतिमा बल फालेका थिए। ८ वर्ष पछि नोर्कियाले उक्त कीर्तिमान तोडेका हुन्। अब स्टेनको उक्त बल लिग इतिहासको चौथो तीव्र गतिको बल बनेको छ। उच्च गतिको शिर्ष ३ बल नोर्कियाले फालेका छन्।

जारि सिजन सबैभन्दा तीव्र गतिको ५ वटा बल नोर्कियाले फालेका छन्। छैठौं तीव्र गतिको बल जोफ्रा आर्चरले फालेका छन् जसको गति १५३.६२ रहेको थियो। आर्चरले कोलकाता बिरुद्धको खेलमा उक्त बल फालेका थिए। यो सिजन सबैभन्दा तिब्र गतिको १० बल मध्ये ६ बल नोर्कियाले र ४ बल आर्चरले फालेका छन्।

लिग इतिहासको १० उच्च गतिको बल

आईपीएल इतिहासको तीव्र गति बल फाल्ने ७ बलर 

एनरिक नोर्किया – १५६.२२ किलोमिटर प्रतिघण्टा ( २०२० )

डेल स्टेन – १५४.४० किलोमिटर प्रतिघण्टा ( २०१२ )

कागीसो रबाडा – १५४.२३ किलोमिटर प्रतिघण्टा ( २०१९ )

जोफ्रा आर्चर – १५३.६२ किलोमिटर प्रतिघण्टा ( २०२० )

प्याट कमिन्स – १५३.५६ किलोमिटर प्रतिघण्टा ( २०२० )

शन टेट – १५३.४३ किलोमिटर प्रतिघण्टा

नभदिप सैनी – १५२.८५ किलोमिटर प्रतिघण्टा

प्रतिकृया दिनुहोस्